काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ ।
सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागिदिएको हो । मञ्च मधेसकेन्द्रित दल राजपा निकट संगठन हो ।
पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले प्रमुख सत्तारूढ नेकपालाई सरकारबाट भोगाधिकार प्राप्त धुम्बाराहीस्थित जग्गा केन्द्रीय कार्यालय सञ्चालनका लागि दिएर भाडा उठाउँदै आएको छ । नेकपाकै जसरी राजपालाई मञ्चले अनधिकृत रूपमा पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो ।
‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७१’ र सर्वोच्च अदालतको २०७२ भदौ २७ गतेको जग्गा भोगाधिकारसम्बन्धी फैसलाविपरीत मञ्चले राजपालाई सरकारी सम्पत्ति भोगचलन गर्न दिएको हो । मन्त्रिपरिषद्बाट पारित कार्यनीतिमा कुनै निकाय वा संस्थालाई जग्गा भोगाधिकार वा लिजमा दिनुअघि जग्गाको अवस्था वा प्राकृतिक प्रकोप व्यवस्थापन प्रयोजनका लागि प्रयोग हुन सक्ने/नसक्नेसमेत अध्ययन गर्नुपर्ने व्यवस्था छ ।
राजपा अध्यक्षमण्डलका सदस्य एवं सांसद अनिलकुमार झाले पार्टी कार्यालय अस्थायी रूपमा मञ्चको भवनमा सञ्चालन भइरहेको बताए । ‘विभिन्न मधेसवादी दलहरूबीच एकता हुँदा कसैको पनि आफ्नै भवन थिएन । त्यसैले मञ्चले अर्को व्यवस्था नभएसम्म भवन दिएको हो,’ उनले भने, ‘छिट्टै हामी सर्छौं ।’
आफ्नै मन्त्रालयले बनाएको कार्यनीतिविपरीत सरकारी जग्गा तथा भवन दुरुपयोग भएको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रतिक्रिया दिन मानेनन् । सरकारी जमिनमा राजनीतिक दलका कार्यालय सञ्चालन भइरहेको विषयमा सोध्दा सचिव मैनालीले भने, ‘यो विषयमा पछि कुरा गरौंला ।’ कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६