काठमाडाैं । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट उद्योग एउटा सामान्य मेसिन बिग्रिँदा ६७ दिनदेखि बन्द छ । आठ सय मेट्रिक टन क्षमताको उद्योग क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) बिग्रेपछि १८ जेठदेखि बन्द भएको हो । बन्द हुनुअघिसम्म दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको थियो ।
मेसिनको मूल्य करिब एक करोड रुपैयाँ पर्छ । तर, एउटै मेसिन २० वर्षदेखि सञ्चालनमा छ । व्यवस्थापनले जगेडा नराख्दा उद्योग नै बन्द गर्नुपरेको स्रोतले बतायो । ‘जुन मेसिन बिग्रिएको हो, त्यो उद्योगमा एउटा मात्रै छ । बिग्रिएपछि फेर्ने भनेर अर्को विकल्पका रूपमा राखिएको पनि छैन,’ स्रोतले भन्यो, ‘यस्तो मेसिन बिग्रन लागेको थाहा हुन्छ । बढी आवाज र भाइब्रेसन आउने, धेरै तात्ने भएर बिग्रन लागेको संकेत दिन्छ । यस्तो अवस्थामा तेल, मोबिल हाल्ने, नट बल्टु कस्ने गरेर मर्मत गर्नुपर्छ र काम चलाउनुपर्छ ।’
तर, जगेडा नराखेको उद्योग व्यवस्थापनले भएको मेसिन पनि सुरुवातमै मर्मत गरेर ठीक पार्नुको सट्टा बिग्रेर काम नलाग्ने हुन्जेलसम्म ध्यान नदिँदा अहिले उद्योग नै बन्द गर्नुपरेको स्रोतको भनाइ छ ।
‘मेसिन बिग्रिएर मर्मत गर्नुपर्यो भने उद्योग बन्द हुन्छ भन्ने सबैलाई थाहा थियो,’ स्रोतले भन्यो, ‘उद्योग बन्द राख्नकै लागि मेसिन बिग्रेर काम नगरुन्जेलसम्म मर्मतका लागि ध्यान दिइएन ।’
पाँच सय किलोवाटको सो जापानिज मोटर बनाउन उद्योगले आलटाल गर्यो । यस्तो ठूलो मेसिन बुटवलमा रहेको नेपाल इलेक्ट्रिक एन्ड हाइड्रोले मात्र मर्मत गर्छ । तर, उद्योग व्यवस्थापनले छिटो मर्मतका लागि नेपाल हाइड्रोसम्म लैजाने जागर नै चलाएन ।
‘मर्मत गर्ने कम्पनीका मानिसलाई बोलाएर मेसिन पठाइयो, हामीले नै लैजान पहल गरेको भए दुई–चार दिन छिटो हुन्थ्यो भन्ने कुरामा कसैले चासो दिएनन्,’ स्रोतले बतायो । मेसिनको भित्रपट्टि रहेका तारहरू जलेर पूर्ण रूपले नष्ट भएका थिए । त्यसलाई मर्मत गर्न भारतबाट पार्टपुर्जा ल्याउनुपर्ने थियो । उद्योगमा रहेका कर्मचारीसँग भारतीय बजारमा राम्रो पकड भए पनि सामान ल्याउन नेपाल हाइड्रोलाई सघाएनन् ।
नेपाल हाइड्रोले आफ्नै सुरले सामान मगाएर मर्मत गर्दा दुई महिना लाग्यो । २० लाख खर्च गरेर शुक्रबार मात्रै मर्मत सकिएको छ । स्रोतका अनुसार छिटो बनाउन चाहेको भए बढीमा एक महिनामा मेसिन मर्मत भइसक्थ्यो । शुक्रबार बुटवलमा पठाइएको मेसिन सोमबारदेखि उद्योगमा जडान थालिएको छ । बुधबारसम्म सबै परीक्षण सकेर उद्योग पुनः सञ्चालन गर्ने योजना रहेको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । नयाँ पत्रिकाले लेखेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६