काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेकाले पूर्वी र मध्य नेपालमा असरदेखिएको छ ।
हाल देशभर सामान्यतया बदली भइरहेको छ । देशको पूर्वी भूभागका केही स्थानमा मेघगर्जन गराउने बादल सक्रिय छ । पूर्वी तराईका केही स्थानमा मेघगर्जनसहितको वर्षा भइरहेको छ । देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनका लागि गरेको मौसमी अनुमान यस्तो छ ।
बुधबार दिउँसो देशका पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसै गरी राति देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागको एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा सामान्य वर्षा हुने छ । पूर्वी पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्छ भने राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुनसक्छ ।
मौसम विभागले देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । मध्य र पूर्वी नेपालका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरोका कारण सडक यातायातमा अवरोध आउन सक्ने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६