त्रिपोली: युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए । आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उहाँले जानकारी दिए ।
ओमारले मारिएका सबै व्यक्ति सर्वसाधारण रहेका र उनीहरुको कुनै पनि लडाकू समूहसँग आबद्धता नरहेको बताए । राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले आक्रमणको भत्र्सना गर्दै आक्रमणमा जिम्मेवारलाई सख्त कारबाही गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।
गत फेब्रुअरीदेखि मुर्जुकलाई नियन्त्रणमा लिइरहेका पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले मुर्जुकमा सक्रिय चाडका लडाकूहरुमाथि हवाई आक्रमण गरिरहेको तर मुर्जुकका स्थानीयबासीलाई लक्षित नगरिएको जनाएको छ ।
लिबियाको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा ल्याउन हफ्तार नेतृत्वको विद्रोही सेनाले भिषण युद्ध गरिरहेको छ । यस द्वन्द्वबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । आक्रमणमा झण्डै छ हजार घाइते भएका छन् भने एक लाख २० हजारभन्दा बढी विस्थापित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६