तनहुँ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दसैंभित्र लालपुर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई निर्देश गरेकी छिन् ।
तनहुँको शुक्लागण्डकी-७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपुर्जा दिलाउन आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्रिपरिषद्को निर्णयले स्थानीयको लालपुर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै दसैंभित्र जनताको हातमा लालपुर्जा थमाउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।
त्यसअनुसार दसैंभित्र लालपुर्जा दिनेगरी काम गर्न मन्त्री अर्यालले कर्मचारीलाई आग्रह गरिन् । ‘राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपुर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलगायतका मातहतका कर्मचारीलाई दिएको हो’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्रिपरिषद्को निर्णय त मान्नुपर्यो नि ! पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपुर्जा बाँड्ने योजना छ । प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीले त्यसतर्फ ध्यान दिनुपर्यो ।’
उनले छिटो काम गर्न र काममा खुट्टा नकमाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल सरकारले यो काम गर भनेपछि कार्यान्वयन गर्न किन ढिलाइ गरिरहनुभएको छ ? यसपटकको दसैं यहाँका जनताले हालमा लालपुर्जा बोकेर खुसीसाथ मनाउन पाऊन्, सबै कर्मचारीलाई निर्देशन र जनप्रतिनिधिलाई मेरो अनुरोध छ ।’
बिचौलियादेखि भने सतर्क रहन उनले स्थानीयलाई आग्रह गरिन् । ‘अहिले जे क्षेत्रमा पनि बिचौलियाको बिगबिगी छ । जग्गा जमिनमा झन् नहुने कुरै भएन, त्यस्ता समूहबाट तपाईंहरु सतर्क रहनुहोला’, मन्त्री अर्यालले भनिन् ।
नगरपालिकामा बसोबास गर्ने एक हजारभन्दा बढी घरधुरीका स्थानीयले आफूले जोतभोग गर्दै आएको जग्गालाई लालपुर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।ब
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६