काठमाडाैं : माउन्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् ।
चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।
उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउन्टेन टिभीमा प्रवेश गरेका थिए । टिभीमा उनी मिसन न्यूज कार्यक्रम चलाउँथे । यसअघि उनले न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । -रासस
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६