काठमाडौं : मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरी हिनामिना गरेको आरोपमा महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले गरेको निलम्बन देखावटीमात्र भएको पाइएको छ। अनियमितताको आरोपमा निलम्बनमा परेका व्यक्तिलाई सबै भूमिकाबाट हटाएर छानबिन गर्नुपर्ने भए पनि जगन्नाथले पूर्ववत् जिम्मेवारीअनुसार नै काम गर्दै आएका छन्।
संस्थानले जगन्नाथलाई निलम्बनको पत्र बुझाएको बताए पनि उनले महिटानीको बैंक खाता सञ्चालनदेखि मठमन्दिरको सबै काम गर्दै आएका छन्। संस्थानले जगन्नाथका ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी तोक्नुपर्ने भए पनि त्यसो नहुँदा उनले नै काम गर्दै आएको संस्थानका उच्चपदस्थ एक कर्मचारीले बताए। ‘निलम्बनमा परेका जगन्नाथले बैंकखाता सञ्चालनलगायतका सबै काम गर्दै आएका छन्,’ उनले भने, ‘जिम्मेवारीबाट नहटाउने हो भने निलम्बन गर्नुको के अर्थ रह्यो ? निलम्बनमा परेका जगन्नाथलाई बैंक खाता सञ्चालनलगायतको नियमित काम गर्न नरोकेपछि गुठी संस्थानकै अधिकारीहरुको संरक्षण रहेको आशंका जन्मेको छ।
ती कर्मचारीले संस्थानको केन्द्रीय नेतृत्वको भूमिकामाथि प्रश्न गरे। ‘साँच्चिकै निलम्बन गरिएको हो भने किन भूमिकाबाट हटाइएन,’ उनले भने, ‘छानबिन सुरु गरेको बताए पनि आलटाल गरिएको छ। ’ महिटानी मन्दिरको जगन्नाथका नाममा रहेको एकल खाता नरोक्नु, मटिहानीको प्रशासनिक र पूजापाठको काम उनकै नेतृत्वमा हुनुले थप आशंका उत्पन्न भएको उनले बताए।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६