काठमाडाैं : सत्तारुढ नेकपाले समाजवाद आधार तयारीका लागि दलाल पुँजीवाद र राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोध गर्ने वर्ग र शक्तिहरूसँग पार्टीको मुख्य अन्तरविरोध रहेको निष्कर्ष निकालेको छ । उसले प्रमुख प्रतिपक्षी कांग्रेसलाई दलाल पुँजीपतिहरूको प्रतिनिधि भनेको छ ।
दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरिरहेको नेकपाले पार्टी एकतापछि पारित गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपतिहरूको प्रतिनिधि भने पनि ऊसँग प्रतिपस्र्धा मात्रै नहुने पनि उल्लेख गरेको छ । कांग्रेससँग सामन्तवादविरोधी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै नेकपाले राष्ट्रियता र समृद्धिको मुद्दामा सहकार्य गर्न सकिने लेखेको छ ।
‘विगतमा हामीले सामन्तवादविरुद्धको संघर्षमा पटक–पटक नेपाली कांगे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ,’ नेकपाले दस्ताबेजमा भनेको छ, ‘तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो ।’
मुख्य अन्तरविरोधबारे दस्ताबेजमा सविस्तार चर्चा गरिएको छ । हालै प्रकाशित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीवादले उत्पादक शक्तिको विकास र अन्ततः उत्पादन र समृद्धिमा अवरोध उत्पन्न गरिरहेको छ । यतिवेला नेपाली जनताको विकास, प्रगति र समृद्धिको तीव्र आकांक्षाको सम्बोधन मुख्य आवश्यकता हो । यो आवश्यकता र अविकसित, पीछडिएको र विपन्न अवस्थाबीच ठूलो अन्तरविरोध छ । तसर्थ, राष्ट्रिय औद्योगिक पुँजीको विकास र समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरुसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ ।’
दलाल नोकरशाही पुँजीवादी र सामन्तवादका अवशेषहरू नै राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोधका रूपमा देखिएको नेकपाको निष्कर्ष छ । राज्यको नेतृत्वदायी भूमिका र प्रभावकारी ढंगले सुशासनको कार्यान्वयनद्वारा दलाल पुँजीको नियन्त्रण र रूपान्तरण गर्दै राष्ट्रिय पुँजी र उत्पादक शक्तिको विकास नगरी उत्पादन वृद्धि र समृद्धिको दिशामा देशलाई लैजान नसकिने उसको ठोकुवा छ ।
त्यस्तै, जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण, उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीको विकास, आर्थिक क्रान्ति र समृद्धि तात्कालिक मूल दिशा र कार्यभार हुने दस्ताबेजमा उल्लेख छ । अहिलेको अवस्थामा भूमण्डलीकृत साम्राज्यवादसँग एक हदसम्म नबुझी र अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाई राष्ट्रिय पुँजीको विकास गर्न नसकिने नेकपाको दाबी छ । उसले समाजवादउन्मुख राष्ट्रिय पुँजीको विकास र सामाजिक न्यायसहितको समृद्धि अबको राजनीतिक कार्यभार र लक्ष्य हुने दस्ताबेजमा उल्लेख गरेको छ । नेकपाले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा गर्ने र चुनावी बाटोबाट सरकार चलाउँदै श्रमजीवी वर्गको हितमा काम गर्ने बाटो अख्तियार गरिने पनि दस्ताबेजमा लेखेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६