यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए ।
विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बेपत्ता बनेका किशोरी दिदी बहिनी हुन् ।
मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशीलरुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको नायब उपरीक्षक थापाले बताए ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६