सत्तापक्ष–प्रतिपक्षले संसदीय छानबिन विशेष समिति गठन गर्ने कि नगर्ने भन्ने विषयलाई आआफ्नो प्रतिष्ठा बनाएका छन्। विपक्षी कांग्रेस र राजपाले सर्लाही घटनामा विशेष समिति बनाइनुपर्ने अडान छाडेका छैनन्। सत्तासीन नेकपा भने त्यसमा सहमत भएको छैन। दलहरूको यही अडानका कारण प्रतिनिधिसभा बैठक तीन सातादेखि अवरुद्ध छ।
सर्लाहीमा असार ५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए। १३ वर्षीय बालकको मृत्यु प्रकरणमा त्यही दिन प्रदर्शन हुँदा प्रहरीको गोली लागी नारायणसिंह महतोको ज्यान गएको थियो। राष्ट्रिय मानवअधिकार आयोगले असार ६ गते टोली पठाएर अध्ययन गरेको थियो। उक्त घटनामा संलग्न प्रहरी र प्रत्यक्षदर्शीसँग बयान लिने काम भइरहेको आयोगले जनाएको छ। प्रतिनिधिसभाकै राज्यव्यवस्था तथा सुशासन समितिले छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको थियो। गृह मन्त्रालयले गठन गरेको तीन सदस्यीय समितिले प्रतिवेदन बनाएर राज्यव्यवस्थामा बुझाएको छ।
कांग्रेसले सरकारको जवाफ माग गर्दै असार २३ गते संसद्मा अवरोध गरेको थियो। गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले समिति गठनको माग अघि सारेको थियो। सत्तासीन नेकपा नेता त्यसमा सहमत भएका छैनन्। ‘मिनी संसद् मानिने संसदीय समितिले अध्ययन गरिरहेको, सरकारले छानबिन गरेको र मानवअधिकार आयोगले पनि हेरिरहेकाले छुट्टै समिति गठनको औचित्य छैन’, नेकपा प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘विषयगत समितिको क्षेत्राधिकारभित्रको विषय यो।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६