काठमाडौं: सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यानलाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
अभियोग लागेका अन्य अभियुक्तलाई भने थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सवोच्च अदालत आइपुगेको यो मुद्दामा दुइ साता लामो बहसपछि आज आदेश भएको हो ।
जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि अभियुक्तहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर, उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यसविरुद्ध १७ नम्वर निवेदन लिएर सर्वोच्चमा आएका हुन् ।
अभियुक्तमध्येका डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेललाई भने थुनामै राखेर मुद्दाकाे प्रक्रिया अघि वढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
असार १९ गतेदेखिको निरन्तर सुनुवाईपछि सर्वोच्चले उच्च अदालत विराटनगरको आदेशविरुद्ध निवेदन दिएकाको हकमा उच्च अदालतको आदेश सदरको फैसला गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६