पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताएका हुन ।
एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।
सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन । --रासस
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६