सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पु¥याउने उद्देश्यले माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो ।
गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी कलेजका छ युवा विद्यार्थीको समूहले स्थानीयवासीसँग सहकार्य गर्दै २५ दिन लगाएर सेवा केन्द्र भवन तयार गरेका थिए । आमा स्मृति प्रतिष्ठान नेपालको समन्वयमा उनीहरु निर्माण कार्यमा लागेका हुन् । प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीले स्वयंसेवक विद्यार्थीले रातको १ बजेसम्म पनि निरन्तर काम गरेर भवन, शौचालयलगायतका पूर्वाधार निर्माण गरेको बताए । विद्यार्थीले रु तीन लाख ८० हजार नगद र रु दुई लाख बराबरको श्रमदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दवाडीले गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासमेतको लगानीमा रु आठ लाख खर्च गरेर भवन निर्माण गरिएको बताए । स्वयंसेवकका रूपमा नेपाल आएका ३० विद्यार्थी पाँच समूहमा विभाजित भएर नेपालका विभिन्न गाउँहरुमा सामाजिक काममा लागेको र सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको सो समूहका टोली नेता गास्पर्ड डारिगलले बताए । आमा स्मृति प्रतिष्ठान, सोलिडारिटी फर फ्रान्स नेपाल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको थियो ।
भवनमा ५० वृद्धवृद्धाका लागि टेलिभिजन, आराम तथा मनोरञ्जनका सामग्रीहरु राखिएको छ । स्थानीय ज्येष्ठ नागरिक तोयनाथ शर्मा लम्सालले विगतमा गाउँघरमा भएका चौतारीहरु अहिले मासिइसकेको बताउँदै दुःख–सुखका अनुभूति साटासाट गर्ने र दिन कटाउनका लागि सेवा केन्द्र निर्माण भएपछि आफूहरु खुशी भएको बताए । उनले भने, हामी वृद्धवृद्धालाई शीतल ताप्ने र एक ठाउँमा बसेर मनको बह, गुनासा पोख्ने ठाउँ पनि छैन, अब भने जमघटको थलो पाएका छौँ ।
सेवा केन्द्र वडा कार्यायललाई विहीबार हस्तान्तरण गर्दैै गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति भएको चर्चा गर्दै उनीहरुका सीप, अनुभव र ज्ञानलाई राज्यले संरक्षण गर्नुपर्ने भनाइ राखे । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले सबै वडामा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको सुनाए । --रासस
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६