तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन् । दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिए । उनको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार सम्भव भएको छैन् , उनले भने, त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धताअनुसार एक दिन चटपटे बेचेका हौँ ।
सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ । ओलीको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको छ । साथै सहयोगका लागि सबैमा आग्रहसमेत गरिएको छ । --रासस
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६