कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको छ । कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।
कतिसम्म भने सिंहसहितका नेपाली कर्मचारी बस्ने सम्पर्क कार्यालय पनि बिहार, पश्चिम चम्पारण जिल्लाको वाल्मीकिनगरमा राखिएको छ । कोसी योजनाको सम्पर्क कार्यालय भने विराटनगरमा छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आएका बेला सम्पर्क अधिकृतद्वय सन्तोषकुमार चोङबाङ र तारा सिंह भनेका छन्, ‘यो कोसी र गण्डक सम्झौतामा भएकै प्रबन्धअनुसारको व्यवस्था हो । आफ्नो राष्ट्रको हकहित र भनाइका लागि तोकिएको योजनामा काम गर्न पनि भारत सरकारको तलब खाइरहेको व्यवस्था सुहाउँदिलो छैन, यो आर्थिक भार नेपाल सरकारले बेहोर्नुपर्यो भन्नका लागि सिंहदरबार आएको हुँ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताउँदै आसन्न दुई देशीय परराष्ट्र मन्त्रीस्तरीय बैठकमा यसबारे कुरा उठाउने प्रतिबद्धता जनाएका छन् । आजकाे कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६