उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग ताप्लेजुङको ओलाङचुङगोला नाका सडक सञ्जालले जोडिने भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ६ सुकेटारबाट विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्गको रानीपुल–ओलाङचुङगोला खण्ड निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभीले सडकको ट्र्याक खोल्ने कार्यलाई गोला र लेलेप दुवै खण्डबाट अघि बढाउन ऐतिहासिक सहमति जुटाएको छ। अहिले लेलपको लुङथुङसम्म ट्र्याक खुलेको छ।
‘अब दुवैतर्फबाट ट्र्याक खोल्ने कार्य अघि बढ्ने छ’, एसडी एलाइट जेभी निर्माण कम्पनीका मुख्य प्रतिनिधि पेम्बा शेर्पाले भने। लुङथुङबाट गोलासम्मको करिब २२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।
सुकेटारबाट–ओलाङचुङगोला ९२ किलोमिटरमध्ये ७० किलोमिटरको ट्र्याक खुलिसकेको छ।
यो सडकखण्डको नियमन गर्ने सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले गोला र लेलेप दुवैतर्फबाट ट्र्याक खोल्ने निश्चित भएकाले अब पूर्वको समृद्धिको ढोका खुल्न लागेको जानकारी दिए।
उनका अनुसार गोलाबाट लुङथुङतर्फ १० किलोमिटर र लुङथुङबाट गोलातर्फ १२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम अघि बढाउने गरी योजना तयार भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६