काडमाठौं ः सिंचाइ आयोजनामा रनिङ्ग विल पास गराइदिने् भन्दै एकलाख ८० हजार घुस माग्ने इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर परेको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवउपर मुद्दा दायर गरेको हो । षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एकलाख ८० हजार घुस मागेका थिए ।
स्थानीयले दिएको सूचनाका आधारमा सेवाग्राहीसँग घुस लिँदैगर्दा अख्तियारको इटहरीबाट खटिएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको थियो । प्रारम्भीक अनुसन्धानका क्रममा उनले उपभोक्ता समितिबाट काम सम्पन्न भइसकेको योजनामा पनि विभिन्न बाहानामा घुस दिन बाध्य पारेका अख्तियारले जनाएको छ ।
घुस मागेको पुष्टी भएसँगै अख्तियारले बुधबार यादवलाई एकलाख ८० हजार कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६