काठमाडौं ः नेकपा युवा नेता योगेश भट्टराई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पर्यटनमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयकाअनुसार उनको अहिले चार बजे शपथ ग्रहण हुँदैछ ।
को हुन् योगेश ?
२०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिएका भट्टराई ताप्लेजुङबाट नेकपाका प्रतिनिधिसभा सदस्य हुन् । सानैदेखि बोल्नमा प्रखर भट्टराईले २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरे । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै उनको राजनीतिक यात्रा सुरु भयो ।
देशमा शाषकविरुद्ध हुने हरेक आन्दोलनमा सहभागी हुने नेता भट्टराई २०५१ सालमा अनेरास्ववियुको सभापति भए । पुनः २०५४ मा एमाले फुटर माले बन्द त्यसको विद्यार्थी संगठनको अध्यक्ष पनि भट्टराई नै बने । त्यसबेला संगठनका महासचिव पूर्व पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारी नै थिए । प्रखर वक्ता भट्राई स्पष्ट विचार राख्ने युवा नेताका रुपमा परिचित छन् ।
२०६५ सालमा बुवटवमा भएको नेकपा एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा विजयी भए । त्यसयता उनले केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव पार्न थाले । केन्द्रीय राजनीतिमा सक्रिय भएपछि उनको लोकप्रियता बढ्दै आएको हो । पार्टीभित्र होस् वा बाहीर युवा जमातको रोजाइमा पर्ने नेता हुन् योगेश भट्टराई ।
२०७५ सालसम्म आउँदा पार्टीको शक्ति सन्तुलनमा पनि भट्टराई माधवकुमार नेपाल र वामदेव गौतम हुँदै केपी ओली खेमामा पुगेका थिए । प्रतिनिधिसभा चुनावमा ताप्लेजुङ पुगेका तत्कालिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङवासीलाई योगेशलाई निर्वाचित गराएमा आफूले मन्त्री बनाउने वचन दिएका थिए ।
यसअघि गठन भएको मन्त्रीपरिषद् विस्तारमा भट्टराई ओलीको रोजाइमा पर्न सकेनन् । हाल पूर्वमन्त्री रविन्द्र अधिकारीको निधन भएको चार महिनापछि भट्टराईलाई नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो । चार महिनासम्म प्रधानमन्त्री ओली आफैले पर्यटन मन्त्रालयको दायीत्व निर्वाह गर्दै आएका थिए ।
विगतमा सरकारको निर्णयको खरो आलोचना गर्ने भट्टराई पछिल्लो केही समययता सरकारको निर्णयको बचाउ गर्दै आएका छन् । सरकारका विवादास्पद निर्णयहरुको आलोचना गर्दै आएका भट्टराईले पछिल्लो समयमा भने सरकारबारे सन्तुलित टिप्पणी गर्दै आएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६