काठमाडौं : बुधबार बिहान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० नम्बर वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समूहले लगाएको आगोबाट कार्यालयका सम्पूर्ण कागजात र फर्निचर। जलेर नष्ट भएका छन् । स्थानीयका अनुसार आगो बुधबार बिहान चार बजेतिर लगाइएको हो ।
आगो लागेको जानकारी पाएलगत्तै स्थानीय नियन्त्रणमा लिन खटिएका थिए । प्रहरी भने स्थानीयले आगो निभाइसकेपछि घटनास्थल पुगेको थियो । वडाअध्यक्ष भक्तबहादुर खड्काले एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेको बताए ।
आगो लगोको स्थानीयबाट खबर पाएपछि आफू घटनास्थलमा पुगेको उनको भनाइ छ । महत्वपूर्ण अभिलेख जलेर नष्ट भएको उनले बताए । आगो कसले लगाएको हो भन्ने कुनै जानकारी नभएको वडाध्यक्ष खड्काले बताए । मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६