तनहुँ : नरभक्षी चितुवाले लगातार बालबालिकाको ज्यान लिन थालेपछि प्रशासनले गोली हानेर मार्ने आदेश दिएको छ । जिल्लाको भानु नगरपालिका–२ र ४ नम्बर वडामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाको ज्यान गइसकेको छ । तीन जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि गाउँलेको अनुरोधमा मार्न आदेश दिइएको प्रजिअ पण्डितले जानकारी दिए ।
उनका अनुसार चिुतवा मार्नका लागि सुरक्षाकर्मी खटाइएको छ । ‘सकेसम्म नियन्त्रणमै लिने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ’ उनले भने, ‘आवश्यक पर्यो भने गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्याे । लगातार आक्रमण गर्न थालेपछि गाउँलेहरु त्रसित छन् ।’ जिल्ला सुरक्षा समितिको बैठकबाट नै आवश्यकताअनुसार गोली हान्ने आदेश दिइएको उनको भनाइ छ ।
चितुवा नियन्त्रणका लागि नगरप्रमुख, स्थानीय युवा, वनरक्षक नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बनाएर गस्ती सुरु गरिएको छ । यस्तै नगरपालिकाले चितुवाको लागि जंगलमै आहाराको व्यवस्थापन पनि गर्ने योजना बनाएको छ । वनमा आहारा नपाउँदा गाउँ पसेर आक्रमण गर्न थालेको भन्दै नगरपालिकाले वनमै लगेर जनावरलाई आहाराका लागि छोड्ने योजना बनाएको हो ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६