लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो।
म्याद दिइयो १६ महिना (३०७४ असोज २७ सम्म)। म्याद सकिँदा कामको मेलै सरेन। फेरि म्याद थपियो। सरकारकै आँकलनअनुसार ३ वर्ष २ महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ।
सरकार ठेक्का लगाउँछ। ठेकेदार समयमा काम सक्दैनन्। सरकार म्याद थपिदिन्छ। ठेकेदार फेरि पनि काम सक्दैनन्। सरकार फेरि पनि म्याद थपिन्छ। तर निर्माण कार्य अझै अघि बढ्दैन।
यस्तै प्रवृत्तिले चार वर्षअघि काम सुरु भएका उपत्यकाका कुनै पनि सडकको काम पूरा भएको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चार वर्षअघि ९ वटा सडक खण्ड विस्तार थालेको थियो। अहिलेसम्म सडकमा प्रगति न्यून छ।
आयोजनाले काम थालेको सडक खण्डमा जोरपाटी–सुन्दरीजल, नख्खु–भैंसीपाटी–बुङ्मती, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड, पेप्सीकोला–काँडाघारी, कर्मनासा–हरिसिद्धि–गोदावरी, इमाडोल–गोदावरी, लगनखेल–सातदोबाटो, चाबहिल–जोरपाटी–साँखु, त्रिपुरेश्वर–कलंकी–नागढुंगा छन्। यीमध्ये अहिलेसम्म एउटा सडकको पनि काम सकिएको छैन।
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड, पेप्सीकोला–काँडाघारी, कर्मनासा–हरिसिद्धि–गोदावरी र जोरपाटीसुन्दरीजल सडकको २० प्रतिशतभन्दा काम हुन सकेको छैन। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६