काठमाडौँः नेपालको संविधानले तीन तहको शासन प्रणलीको व्यवस्था गरेको छ । केन्द्रमा मात्रै होइन, प्रदेश र स्थानीय तहमा पनि स्वतन्त्र सरकारहरु विस्तार गरिएको छ । केन्द्रीय सरकारले जसरी मुलुकभरी शासन सञ्चालनको अधिकार राख्दछ केहि बिशेष विषय बाहेक प्रदेशको सरकारले पनि सम्बन्धित प्रदेशका जनताका लागि सोहि किसिमको अधिकार दिलाउन सक्छ । प्रदेश र स्थानीय तहका जुन सरकारहरु छन् उनीहरु पनि संविधानले तोकिदिएको क्षेत्रभित्रका जनताका सुख दुःख मात्रै होइन विकास निर्माण र सम्बृद्धिको लागि समेत जिम्मेवार हुने संविधानको व्यवस्था छ । तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको प्रदेशस्तरीय निर्देशनालय खोल्न छाडेर आफन्तलाई अगाडि सरेर व्यापारिक उद्देश्य सहितको प्रतिष्ठान खोल्नतिर लागेका छन् ।
शाहीले श्रीमती चन्दा शाही र आफन्तलाई अगाडी सारेर योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान खोल्ने अन्तिम तयारी गरेका छन । प्रतिष्ठानको सबैजसो कागजात अगाडी बढेको छ भने अधिकांश निकायबाट स्विकृति समेत पाइसकेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको जोडबलमा प्रतिष्ठान सञ्चालनका लागि सम्पूर्ण कागजातहरु फाष्ट्रयाक मार्फत अगाडी बढेका छन् । नियमानुसार कुनैपनि प्रतिष्ठान खोल्नका लागि सम्पूर्ण भौतिक संरचना हुनु अनिवार्य हुन्छ । तर योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको भौतिक संरचना त धेरै टाढाको कुरा संरचना बनाउने जग्गा समेत कहिकतै छैन ।
कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको प्रदेश स्तरिय कार्यालय अहिलेको आवश्यकता हो । तर प्रदेशका मुख्यमन्त्री समग्र जनताको लागि परिषदको प्रदेशस्तरिय संरचना निर्माण गर्नुको सट्टा उस्तै प्रकृतिको संरचना सोहि परिषदको अनुमति लिएर विस्तार गर्ने तयारीमा छन् तर त्यो सरकारी नभई आफ्नो र आफ्ना आफन्तहरुका श्रीमतीलाई अघि सारेर विशुद्ध व्यापारिक प्रयोजाका लागि सञ्चालन गर्न लागिएको प्रतिष्ठान हो । जानकारहरु अनुसार मुख्य मन्त्री शाहीको योजना यहि वर्ष आफन्तहरुको नाममा प्रतिष्ठान खोल्ने र यहि आर्थिक बर्ष र आगामी आर्थिक वर्षमा केन्द्र सरकारबाट बजेट पार्ने मात्रै होइन प्रदेश सरकारको पनि उल्लेख्य बजेट यहि प्रतिष्ठानलाई पार्ने रहेको छ । आफू हर्ताकर्ता भएको कर्णाली प्रदेश मात्रै होइन तल देखि माथिसम्म नेकपाको सरकार भइरहेका बेला एकातिर यस प्रतिष्ठानलाई राज्यका सबै तहबाट अनुदानको ओइरो लाउने योजना रहेको छ भने अर्कोतिर प्रतिष्ठान अन्र्तगत शिक्षा र स्वास्थ्यका विभिन्न संरचना बनाई व्यापार गर्ने उदेश्य ।
मुख्यमन्त्री शाहीले आफन्तहरुका नाममा सञ्चालन गर्न लागेको यस प्रतिष्ठानले विभिन्न निकायबाट लिएको स्विकृत हेर्दा आयुर्वेद, स्वास्थ्य तथा प्राविधि शिक्षा पठनपाठनको उद्देश्य राखेको देखिन्छ । साथै प्रतिष्ठानले अटोमोवाईल, ईन्जिनियरिङ, वन विज्ञान, कृषि, फार्मेसी लगायतका आधादर्जन प्राविधिक क्षेत्रमा तालिम सञ्चालनको प्रकृया समेत थालनी गरेको छ ।
आफ्नी श्रीमती चन्दाकुमारी शाहीलाई सिधै अध्यक्ष राख्दा विवादमा आउन सक्ने बुझेरै मुख्यमन्त्री शाहीले योजनाबद्ध रुपमा उनलाई उपाध्यक्ष राखेका छन भने त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको शिक्षा क्याम्पस सुर्खेतमा प्रशासनमा काम गर्ने सुव्वा तहका आफ्ना आफन्त धर्मराज शाहीलाई प्रतिष्ठानको अध्यक्ष बनाएका छन । यस्तै यस प्रतिष्ठानमा रहेका अध्यक्ष देखि सचिव सम्मका सबै शाहीहरु मुख्यमन्त्री शाहीको आफन्त र नाता पर्ने व्यक्तिहरु हुन । बाँकी अन्य सदस्य तथा पदाधिकारी पनि शाहीकै विभिन्न स्वार्थसंग जोडिएका व्यक्तिहरु हुन ।
२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहदा रहदै अर्काे प्रतिष्ठानमा लगानी गर्नु तथा कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको स्थापना गर्न छाडेर मुख्यमन्त्रीले आफ्नै अदृश्य सहभागितामा नयाँ प्रतिष््ठान खोल्ने तयारी गर्नु राज्यको बजेट घुमाउरो बाटोबाट आफ्नै व्यापारिक प्रतिष्ठानमा लाग्ने कुत्सीत मनसाय प्रष्टै छ ।
प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले कुनैपनि प्रतिष्ठान बनाउनुको अर्थ सहुलियत दरमा तालिम उपलब्ध गराउने भन्ने रहेको बताउदै प्रतिष्ठान सम्बन्धी कार्यविधि परिषदको बैठकले पास गर्ने बताए । उनका अनुसार योगी नरहरीनाथको नाममा पनि प्रतिष्ठान गरिएको जनकारी भएपनि त्यसभित्र को को संलग्न छन भन्ने बारे अहिले हेर्ने बेला भइसकेको छैन । यदि मुख्यमन्त्तीले आफ्नै आफन्तलाई अघि सारेर त्यसो गर्न लागेको भए त्यो ‘कन्फीलीक्ट अफ इन्ट्रेष्ट’ हुने र त्यस्तो देखिए आफूहरुले अनुमति दिन नसक्ने वाग्लेको भनाई छ । परिषदको प्रदेशस्तरिय संरचना यसअघिनै कर्णाली प्रदेशमा रहेको र नरहरीनाथ प्रतिष्ठानले राखेको उदेश्य सोहि बाट पुरा गर्न सकिने भएपनि यो किन सुरु गर्न लागिएको आफूले धेरे बुझ्न नसकेको सदस्य सचिव वाग्लेले बताएका छन । तर पदाधिकारी को को छन् भन्ने विषयमा अध्ययन गर्ने बेला अहिले भइनसकेको पनि वाग्लेको भनाई छ ।
मननिय कुरा के छ भने घुमाउरो बाटोबाट व्यापार गर्न मुख्यमन्त्री शाहीले हिन्दु धर्मका अगुवा विद्धान सन्यासी योगी नरहरिनाथको नामको सहारा लिएका छन् । र त्यति ठुलो विद्धानको नाममा खोल्न लागिएको प्रतिष्ठानको अध्यक्ष एक समान्य सुव्वा स्तरका कर्मचारीलाई बनाएका छन । र योगी नरहरी नाथलाई यस्तो व्यापारिक प्रतिष्ठानमा उपयोग गर्न मिल्ने हो या होइन यो पनि अर्को गंभिर विषय छ । र अध्यक्ष बनाइएका धर्मराज शाही एक सरकारी कर्मचारी हुन र सरकरी सेवामा रहेको कुनैपनि कर्मचारीले यस्ता प्रतिष्ठानको अध्यक्ष बन्ने बाटो समेत कानुनले बर्जित गरेको छ ।
गज्जब कुरा के छ भने श्रीमती चन्दाकुमारी शाहीलाई उपाध्यक्ष र अन्य आफन्तहरुलाई मुख्य पदाधिकारीमा राखेका मुख्यमन्त्री शाही स्वयम् उक्त प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक रहेका छन् साथै पूर्व अर्थराज्यमन्त्री उदेय जवरा बाहेक बाँकी सल्लाहकारहरु प्रतिष्ठान पदाधिकारीका कोही श्रीमान कोहि चाहि आफन्त रहेका छन ।
यस बेथितिको बाँकी तथ्य हामी अर्को श्रृखलामा उजागर गर्नेछौ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६