असारको अन्तिम साता तराईमा आएको बाढीले हुलाकी राजमार्गलाई तहसनहस बनाएको छ। सर्लाही र रौतहट क्षेत्रमा जताततै सडक भत्किएका कारण सवारी आवगमन ठप्प बनेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सदरमुकाम मलंगवादेखि करिब २५ किलोमिटर पश्चिमको बलरा पुगेर फर्कंदा करिब १ सय ५० किलोमिटरको यात्रा तय गर्नुप-यो। सुरुमा ३५ किलोमिटर उत्तर पुगेर फेरि ४० किलोमिटर दक्षिण झर्नुपर्ने बाध्यताले बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुबानपीडित गाउँ जान उनले यात्रा लामो बन्न पुगेको हो।
पटकपटकको अविरल वर्षाका कारण सर्लाहीको लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्ग बगाएकाले प्रजिअ राउतले त्यस्तो सास्ती बेहोर्दै आएका छन्।
‘बाढीले हुलाकी राजमार्ग ठाउँठाउँमा क्षतविक्षत मात्र बनाएको छैन, कतिपय ठाउँमा सडक बगाएकै छ,’ उनले भने, ‘त्यसैले जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका बलरा, रामनगर, विष्णु, धनकौल, बसबरियालगायत आधा दर्जन स्थानीय तहका बाढी एवं डुबानपीडितले गाउँमा जानुपर्दा पूर्व–पश्चिम राजमार्ग हुँदै बरहथवा भएर लामो यात्रा गर्दा ठूलो सास्ती भोग्नुपर्छ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६