कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको रिक्त संरचना पूर्ति ‘कसरी गर्ने ?’ भन्ने विषयले बैठक सकसमा परेको छ ।
बैठकमा पहिले १४औं महाधिवेशन मिति तोक्ने वा रिक्त संरचना पूर्ति गरेर महाधिवेशन आधार बनाउने वा सहमतिबाटै सबै संरचना बनाएर महाधिवेशनमा जाने भन्ने विषयमा संस्थापन र इतरसमूह नेताबीच अझै कुरा मिल्न सकेको छैन ।
गत २२ असारबाट सुरु बैठकमा पहिलो र दोस्रो दिनबाहेक हरेकमा यिनै दुई विषयमाथि छलफल जारी छ । पहिलो दिनको बैठकमा पार्टी नियमावली मस्यौदा पेश र दोस्रो बैठकबाट नियमावली केही विषयमा सहमतिबाट परिमार्जन शर्तमा सर्वसम्मत पारित गरिएको थियो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठक महाधिवेशन र पार्टी संरचना गठनका दुई विषयमा अल्झिएको बताए । ‘बैठकमा मूलभूत रूपमा यीनै दुई विषय उठान भएका छन्, विधि र विधानभित्रैबाट संरचना बनाइनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले राजधानीस“ग भने, ‘सहमतिका विषय पनि आएका छन्, छलफल हुँदैछ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६