उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिएका छन् । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन (नेफा) द्वारा आज आयोजित कार्यक्रममा उहाँले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताए । आजको विश्वबजारमा हामीले कुनै न कुनै वस्तुको आयात त गर्नैपर्ने हुन्छ । तर, जुन वस्तुको उत्पादन हाम्रो देशमा सम्भव छैन, त्यस्ता वस्तुमात्रै आयात गर्नेमा विशेष ध्यान दिनुपर्दछ , उपराष्ट्रपतिले भने, आयात गरिने वस्तुको मूल्यभन्दा अधिक मूल्य प्राप्त हुने गरी हाम्रा उत्पादन विश्वबजारमा पु¥याउन सक्नुपर्दछ । नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सकेमात्र व्यापार सन्तुलन गर्न सकिनेमा जोड दिँदै उनले निर्यात व्यापारको वृद्धिमार्फत मात्रै समृद्ध नेपाल निर्माणको अभियानलाई साकार रूप दिन सकिने बताए ।
हामी प्राकृतिक स्रोत साधनले सम्पन्न छौँ, जलविद्युत् निर्यात गर्ने चरणमा पुगिसकेका छौँ । पानी, जडीबुटीलगायत हामीलाई प्रकृतिले दिएको उपहारलाई निर्यात गर्न सक्छौँ, यो सम्पन्नतालाई उच्चतम् उपयोग गर्दै निर्यात गरेमात्रै पनि व्यापार घाटालाई कम गर्न सक्छौ , नेपालको निर्यात सम्भावना औँल्याउँदै उपराष्ट्रपति पुनले भने । नेपालको समृद्धिको आधारका रूपमा कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, खनिज, उद्योग र पूर्वाधारलाई लिइएको उल्ल्ेख गर्दै उनले कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गरेर निर्यात गर्न सकिने सम्भावना औँल्याएका छन् । पर्यटन पूर्वाधारको विकास गरेर सेवा क्षेत्रको विस्तार, विद्युत् उत्पादन गरेर निर्यात गर्न सक्छौँ , उपराष्ट्रपतिले भने, जडीबुटी प्रशोधन र खनिजको उत्खनन् तथा गुणस्तरीय उत्पादन निर्यात गर्न सक्छौँ । तर, हाम्रा सबै उत्पादन गुणस्तरीय हुनुपर्दछ । गुणस्तरमा भने कुनै सम्झौता गर्नुहुँदैन । निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आयातभन्दा निर्यातलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरे । यहाँहरुले निर्यात आयात दुवै व्यापारलाई सहजीकरण र सरलीकरण गर्दै आउनुभएको छ । यसलाई अझै व्यवस्थित गर्न जरुरी छ । यहाँहरु व्यवसायी हुनुहुन्छ । व्यवसायी हुनुको नाताले मुनाफाको अपेक्षा गर्नु स्वभाविक हो , व्यवासयीलाई ध्यानाकर्षण गराउँदै उपराष्ट्रपतिले भने, आयातभन्दा निर्यातलाई प्राथमिकतामा राख्नुहोस् । राष्ट्रभन्दा ठूलो केही हुँदैन । किनकी निर्यात व्यापार प्रवद्र्धन गर्ने जिम्मेवारी तपाईँहरुको पनि हो । निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सरकारले आफ्नो प्रयास जारी राखेको उल्लेख गर्दै उनले निर्यात प्रवद्र्धनमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरे । सरकारको एक्लो प्रयासले मात्रै हाम्रो यो यात्राले उचाइ प्राप्त गर्दैन, नीजि क्षेत्र तथा व्यवसायीले सरकारसँग यसमा हातेमालो गर्नुपर्दछ , उनले भने।
केही वर्षभित्रै नेपालको ढुवानी क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले अब छिट्टै रेलमार्ग, जलमार्ग तथा धेरै अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात निर्यात गर्नसक्ने गरी पूर्वाधार निर्माण भइरहेकामा खुसी व्यक्त गरे । मालवस्तु ढुवानी सहजीकरण र सरलीकरणमा सरकारले गरिरहेको प्रयासले सार्थकता पाउने विश्वास व्यक्त गर्दै उनले नेपालका नदीमा साना तथा मझौला पानीजहाज सञ्चालन हुने दिन अब धेरै टाढा छैन भने । रेलमार्ग, जलमार्ग सञ्चालन हुने दिन पनि धेरै टाढा छ जस्तो लाग्दैन, जलमार्ग र रेलमार्गले हाम्रो निर्यात आयात व्यापारलाई सहज बनाउने छ । हामीलाई समुद्रसँग जोड्नेछ यसबाट कार्गो व्यवसायीलाई पनि सहजता मिल्नेछ , उपराष्ट्रपतिले भने ।
ढुवानी पूर्वाधारका क्षेत्रमा थुप्रै विकास भए पनि सबैको सकारात्मक सोच नराख्ने हो भने कुनै प्रगति नहुने उहाँको भनाइ थियो । राष्ट्रहित भन्दा पनि व्यक्तिवादी सोच हावी हुँदै गइरहेकामा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपतिले आफ्ना लागि भन्दा पनि राष्ट्रका लागि सोच्न आग्रह गरे । उनले भने, देश डुबिरह्यो भने तपाईं हामी कहाँबाट बच्छौँ ? मेरो आग्रह छ, हामी जो जुन क्षेत्रमा छौँ, पहिला देशको लागि सोचौँ र आफ्नो लागि पनि । उपराष्ट्रपति पुनले कार्गो व्यवसायीमा देखिएका व्यवधान समाधान गर्न सरकार अग्रसर हुने अपेक्षासमेत गरे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्ल्ेख गर्दैै बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गरे । सरकारले ढुवानी व्यवसायलाई प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको जानकारी दिँदै उनले नेपालको समुद्रसम्म सहज पहुँचका लागि ठूलो मेहनत गरिएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पूर्वाधार विस्तार गरेरमात्रै निर्यात विविधीकरण गर्न सकिनेमा जोड दिँदै ढुवानी व्यवसायमा नवीनतम् प्रविधिको प्रयोग गरिनुपर्ने बताए ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पूर्वाधारको विकासतर्फ सरकारको ध्यानाकर्षण गराए । भारतीय कार्गो व्यवसायी महासङ्घका अध्यक्ष एस रामकृष्ण रावले भारत र नेपालका कार्गो व्यवासायीको सामूहिक प्रयत्नबाट मात्र दुवै मुलुकको समृद्धि सम्भव भएको बताए । व्यापार सहजीकरणमा दुवै संस्थाले एकअर्कालाई भरपूर सहयोग गर्दै आएको उनको भनाइ थियो । सङ्घका अध्यक्ष प्रकाश सिंह कार्कीले समग्र कार्गो व्यवसायको विस्तारका लागि यससँग सम्बन्धित ऐन, कानून परिमार्जन गर्न आग्रह गर्दै कार्गोमैत्री पूर्वाधार विकासमा जोड दिए ।
व्यापार सहजीकरण गर्न सङ्घ तयार रहेको जानकारी गराउँदै उनले कार्गो व्यवसायमा देखिएको समस्या समाधान गर्न सरकाको ध्यानकर्षण गराए । कार्यक्रममा आयात, निर्यात तथा कार्गो व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्व तथा उत्कृष्ट कार्गो ढुवानी गर्ने संस्थालाई सम्मान गरिएको थियो । सन् २०१८ को ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ अनलाइनतर्फ क्रमशः कतार एयरवेज, क्याथे प्यासिफिक कार्गो र थाइ एयरवेजलाई प्रदान गरियो । त्यस्तै अफलाइनतर्फ इमिरेट्स स्काइ कार्गोलाई ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ प्रदान गरिएको थियो ।
सो अवसरमा उपराष्ट्रपति पुनले कालोपुलस्थित सङ्घको नवनिर्मित भवनको समेत अनलाइन माध्ययमबाट उद्घाटन गर्नुभएको थियो । सङ्घमा कार्गो सेवा उपलब्ध गराउँदै आएका ११८ कम्पनी आबद्ध रहेका छन् । ढुवानी तथा कार्गो व्यवसायलाई आवश्यक पर्ने ऐन, नियम तथा कानून निर्माणमा सङ्घले सरकारलाई सुझाव, सल्लाह उपलब्ध गराउँदै आएको छ । --रासस
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६