आइसीसी टि २० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले जितेकाे छ ।
सिंगापुरको इन्डियन एशोसियसन ग्राउण्डमा कुवेतले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले तीन विकेटकाे क्षतिमा पुरा गरेकाे हाे ।
शनिबार बिहानको शानदार जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । अब नेपालले सिंगापुरविरुद्धको खेलमा पनि जित निकाल्नुपर्छ ।
इन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान पारस खड्काले ६८ रनको शानदार पारी खेले । ४२ बल सामना गरेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन योगदान गरे । यसैगरी शरद भेषावकरले ३८ र उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन योगदान गरे ।
बलिङतर्फ कुवेतका कप्तान मोहम्मद कासिफले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । कुवेतका लागि मोहम्मद कासिफले सर्वाधिक ४९ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । करण केसीले २ र अविनाश बोहराले १ विकेट लिए ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६