लालबकैया नदीको टिकुलिया घाटमा पक्की पुल निर्माण अलपत्र छ। पुल नबनेकाले रौतहटका गौर र इशनाथ नगरपालिका क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। इशनाथका चार वडासँग बाढीका बेला केही दिन सम्पर्कसमेत टुट्यो। सदरमुकाम गौरबाट उद्धार टोली समयमा पुग्न सकेन।
‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य ग्रिसनन्दन सिंहले भने, ‘डुंगासमेत चलाउने अवस्था नभएपछि गाउँको सम्पर्क टुट्यो।’ तीन किलोमिटर दूरीको गाउँमा तीन दिनपछि मात्रै उद्धार टोली पुगेको थियो। यही पुलको पिलरमा डुंगा ठोक्किएर गत भदौमा पाँच यात्रुको ज्यान गएको थियो।
सम्झौताअनुसार डेढ वर्षअघि पुल बनाइसक्नुपर्थ्यो। हिउँदमा निर्माणाधीन पुलनजिकै बाँसको अस्थायी पुल बनाएर स्थानीय आवतजावत गर्छन्। वर्षाको समय नदीमा बाढी आउँदा जोखिम मोलेर डुंगाको यात्रा गर्न बाध्य छन्।
पुल पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। अघिल्लो आवमा विभिन्न कारण देखाउँदै उसले काम गरेन। गएको वर्ष काम गरेको थियो तर सुस्त गतिमा। ‘पुलको स्पानको काम भइरहेको छ’, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर श्यामनारायण झाले भने, ‘ठेकेदारले चाँडोभन्दा चाँडो निर्माणको काम सक्नुपर्ने हो।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६