काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताएका छन् ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लो समय मुलुकमा लागुऔषध प्रयोगकर्ता बढेका र लागुऔषध नियन्त्रण गर्न प्रत्येक प्रदेशका दुई÷दुई स्थानमा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । “लागुऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रण गर्न यसबाट सहयोग पुग्नेछ”, महानिरीक्षक खनालले भने ।
एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुनेगरेको भन्दै उनले यसलाई निर्मूल पार्न सबै पक्ष लाग्नुपर्ने बताए । महानिरीक्षक खनालले सडक सुरक्षित भए मात्र दुर्घटनामा कमी आउने र सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरीको साथसाथै चालकको पनि उत्तिकै जिम्मेवारी रहने बताए ।
मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति विस्तारै कम हुँदै गएको उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सडक सुरक्षा र लागुऔषध नियन्त्रणलाई विद्यालयको पाठ्यक्रममासमेत समावेश गरी विद्यार्थीलाई अध्ययन गर्न लगाउनुपर्ने बताए ।
उनले सभ्य समाज निर्माणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । नार्कोनन् नेपालका कार्यकारी निर्देशक वसन्तराज कुँवरले मुलुकका लागि लागुऔषध दुव्यर्सनी चुनौतीपूर्ण बन्दै गएको र यसलाई कम गर्न सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका उपाध्यक्ष दिपीका थापाले बालबालिकालाई लागुऔषध र सडक सुरक्षाको बारेमा जानकारी दिनुपर्ने बताए । सडक सुरक्षाको बारेमा जानकारी दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले चालकको लापरवाही, तीव्रगति, मापसेलगायतका कारण दुर्घटना बढ्दै गएको बताए ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले २०६९ सालदेखि हालसम्म ब्यूरोले जथाभावी रुपमा लागुऔषध ओसारपसार गर्ने ९६ विदेशी नागरिकसहित दुई हजार ५२८ जनालाई पक्राउ गरेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६