प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकले ‘क्लिन फिड’ कार्यान्वयन सम्बन्धी दफा पारित गरेको छ । समितिले पुराना सेवा प्रदायकले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् । नयाँ सेवा प्रदायकले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।
पुरानासेवा प्रदायकले क्लिन फिड्का लागि पूर्वाधार बनाउनुपर्ने भएकाले एकवर्ष समय दिइएको सभापति खड्काले बताइन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भने नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि क्लिन फिड लागू हुने व्यवस्था पारित गरेको थियो ।
विधेयकमा संशोधन दर्ता गराउनुभएका सांसद दिव्यमणिराज भण्डारीले राष्ट्रिय उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, गान लगायतको प्रयोग गर्न नपाउने व्यवस्था उपयुक्त नहुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिनुपर्ने बताइन् ।
संशोधन दर्ता गराएकी सांसद विन्दा पाण्डेले लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा विज्ञापन गर्न नपाउने व्यवस्था हुनुपर्ने बताइन् । सांसद गणेश पहाडीले संविधान विपरीतका विज्ञापन गर्न नपाइने व्यवस्थालाई विधेयकमा पनि उल्लेख गरिनुपर्ने तर्क राखे ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउ जस्ता खानाको विज्ञापन गरेर नकारात्मक प्रभाव परेकाले पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६