काठमाडौंः काठमाडौंको चावहिल चोकमा बसेर नवलपरासीका अधेस पथरले सिलौटा बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।
बजारमा नयाँ र आधुनिक मसला पिस्ने तथा अजार बनाउने हाते र विद्युतिय मेसिन नआएको पनि होइन तर पथरले बनाएको बुट्टासहितको सिलौटाको बजार भने अझैपनि घटेको छैन ।
उनि भन्छन्,‘ढुङ्गाको सिलौटाको रहर गर्ने तथा प्रयोग गर्नेहरु अझै छन् ।’ उनले बनाएको बुट्टासहितको सुन्दर सिलौटा देखेर किन्नेहरू यहाँका स्थानीयभन्दा बाहिरबाट घुम्न आउनेहरू धेरै छन् । सिलौटा बोक्न नमिलेकाले गाउँगाउँमा सडक पुगेसँगै उनले बनाएका सिलौटा पनि गाडीमा गाउँगाउँ पुगेको उनले बताए ।
उनले ठूलो सटर खोलेर सिलौटा अनि ओखलकोे व्यापार गर्ने मन छ । तर बाटोमा भाडा महँगो हुने तथा भाडामा कोठा पाउनै मुस्लिक भएको उनी बताउछन्,‘बाटोमा बस्दा त दिनमा व्यापारको टुंगो हुँदैन् झन सटर लिएर बस्दा हालत के हुन्छ होला ? महँगो भाडा भएकोले फुटपाथ मै बसेर बिक्री गर्दैछु ।’
सिलौटा र ओखल बचेर मासिक २५ हजार सम्म आम्दानि भईरहेको उनको भनाई छ । जसबाट उनले आफनो जिविकोपार्जन गरिहरहेको बताउँछन् । कहिलेकाँहि उनी साईकलमा बोकेर काठमाडौको टोखा, चक्रपथ, गौशाला लगायतका विभिन्न ठाउँमा व्यापार गर्न पुग्छन् ।
आफनो बाजेबराजुदेखिको पेसा छाड्न नसकेको उनी बताउँछन् । उनी भन्छन् के गर्ने आफनो त पेसा नै यहि हो । अरु व्यापार जस्तो ठूलो सटर लिएर व्यापार गर्न पनि समस्या छ ।
नवलपरासी बाट व्यापारकै लागि भनेर काठमाडौँ आएको १ वर्ष भएकाे छ । आफनो सानै उमेरदेखि यहि पेसा गर्दै आएको उनको भनाई छ । जस्तोसुकै ढुंगाबाट सिलौटा बनाउन नसकिने उनको तर्क छ । भारत तथा नेपालको बर्दिवासको विभिन्न ठाउँ पुगेर प्रतिगोडा १० रुपैयाँमा किनेर काठमाडौँ ल्याउनुपर्छ । सोहि ठाउँबाट लिएको ढुंगाबाट विभिन्न आकार र डिजाईनका सिलौटा ओखल र जाँतो बनाउँछन् ।
उनी भन्छन् एउटा ओखल र जाँतो बनाउन दुई दिनसम्म लाग्छ भने सिलौटो बनाउन त्यस्तै २/३ घण्टा लाग्छ । ठूला साना गरी दिनभरिमा करिव १० वटा सम्म सिलौटो बनाउन सकिने उनको भनाई छ । दुई सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्ममा किनबेच हुने उनी बताउछन् । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यहि काममा व्यस्त हुन्छन् । ‘तीन छोरीहरु सानै भएकाले अहिले खासै खर्च हुँदैन । श्रीमति पनि यहि काम गर्छिन् ।’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६