लमजुङ: लमजुङको दोर्दी खोलामा बुधबार आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ ।
सात जना अझै वेपत्ता छन् भने ८ जना घाइतेकाे उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी बसन्त पाण्डले आजकाे न्युजलाई जानकारी गराए ।
पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढाकाे सनाखत भएकाे छ । निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश सहयोगी थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको सुचना अधिकारी पाण्डेले बताए ।
बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेकाे भएपनि बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६