सत्तारुढ दल नेकपाले ललितपुर जिल्ला कमिटीमा सदस्यमा स्थायी शिक्षकलाई सदस्य बनाएपछी विवाद उत्पन्न भएको छ। नेकपाको १ सय ५५ जिल्ला सदस्यमध्ये ७ जना शिक्षक हुन्।
शिक्षा ऐनमा शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य नपाइने व्यवस्था छ। नेकपाको जिल्ला कमिटी सदस्यमा छानिएका शिक्षकले केन्द्रले नै यसको निकास निकाल्नुपर्ने बताएका छन्।
पार्टीको सदस्यता लिनेमा प्रधानाध्यापकलगायत २२ वर्षदेखि अध्यापनमा संलग्नहरू पनि छन्। वागमती गाउँपालिका–२ मा रहेको नागदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ठाकुरमान लामा। तर उनी नेकपाको जिल्ला कमिटी सदस्य बनेका छन्।
‘दुईमा एक रोज्नुपर्यो भनिसकेको छु’, वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भने, ‘पढाउने भए राजनीति छाडेर आउनुपर्छ।’ वडा नम्बर २ का अध्यक्ष विजयकुमार लोलाई यसबारे कारवाही अघि बढाउन निर्देशन दिएका उनले भने, ‘शिक्षकले राजनीति गर्ने होइन।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६