नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।
८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।
छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट हुन पुगे । त्यस्तै प्रदीप ऐरी १२ रनमा आउट भए । विनोद भण्डारी अविजित १३ र दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । मलेसियाका लागि मुहम्मद सहदायतले ३ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए ।
नेपालका लागि सोमपाल कामीले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६