चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।
समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए ।
सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताए । उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गरे ।
समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।
यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच रङ्शालाको निर्माणकार्य मङ्गलबारबाट पुनः शुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रङ्गशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनः काम शुरु गरेको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदीलगायतले पुनः रङ्गशाला निर्माणको कामले निरन्तरता पाएको बताए ।
केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेशनले जनाएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६