डोल्पा: ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदैछिन् । उनले दैनिक एक भारी दाउरा बिक्री गरेर ५०० रुपैयाँ कमाउँदै आएकी छिन् ।
बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा ५०० मा बिक्री गर्दै आएको उनको भनाइ छ । उनजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएको बताइन् । चार छोराछोरीकी आमा उन दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताइन् । अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आएकाे बताए । दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।
घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । सो भन्दा माथि यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिए । सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन् । तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ । मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताए ।
दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उनको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आएकाे बताइन् । आरनको काम र दाउरा बिक्री नभएको दिन उनहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ । करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताए । अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उनले बताए । बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताए ।
यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ । आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको यहाँका सबै दलित समुदायको भनाइ छ । आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ ।
वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन बाध्य भएको उनीहरुको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६