गुल्मी: गुल्मीकाे छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएकोगुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले सकुशल छन् ।
सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् ।
गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ का १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।
उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६