रामायणकालीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महत्वको मुद्दा बनेको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका अन्य सम्पदाहरू सूचीबाटै हट्ने सम्मको चर्चा चलिरहेको सन्दर्भमा जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयासले भने निरन्तरता पाएको छ ।
यसका लागि विश्वसम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्त रूपमा विद्यमान रहेकाले सांस्कृतिक विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत रूपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।
राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको हो ।
पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छन् । तीमध्ये नेपालका चारवटा रहेका छन् । युनेस्कोले सन १९७९ मा दुई सांस्कृतिक (काठमाडौं उपत्यकाका सात र लुम्बिनी) र दुई प्राकृतिक सम्पदा (सन् १९७९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज)लाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६