काठमाडौं: सेयर कारोवारमा संलग्न विभिन्न लगानीकर्ताहरूका संघसंगठनहरूले आजको प्रविधिको युगमा पनि ब्रोकर कार्यालयमै पुगेर लगानीको विवरण बुझाउ भन्नु लगानीका लागि कालो धव्वा भएको भन्दै विरोध जनाएको छ ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दवाव समूह र नेपाल पूँजीबजार संघले आज संयुक्तरुपमा प्रेस विज्ञप्ती प्रकाशित गरि दोश्रो बजारमा सेयर विक्री गरेपछि भौतिक रुपमा ब्रोकर कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउन पर्ने निर्णय लगानीकर्ताका लागि अनलाइन र प्रविधिको युगमा कालो धव्वा भएको जनाएका छन् ।
सरकारको यस्तो निर्णय आफूहरूलाई स्विकार्य नभएकाले लगानीकर्ताहरूलाई ब्रोकर कार्यालयमा गएर हस्ताक्षेर नगर्न आग्रह गरिएको छ । यस्तै लगानीकर्ताहरूले सिडीएससीलाई राफसाफ रोकी यस समस्यालाई समाधानमा सहयोग गर्न सवै सरोकारवालाहरूलाई आग्रह समेत गरिएको छ । एकातिर अनलाईन प्रणालीमा प्रवेश गरेको भनेर हल्ला गर्ने तर ब्रोकरकै कार्यालय धाउने परिस्थितिले कस्तो अनलाईन प्रणाली सञ्चालन गर्न खोजीएको हो भन्दै लगानीकर्ताहरूले आश्यर्च प्रकट गरेका छन ।
सेयर लगानकर्ता दवाव समूहका सल्लाहकार नवराज उप्रेतीले गएको वर्ष नै सरकारसँग भएको सहमति उल्टाएको आरोप लगाए । एनआरएनलाई समेत अनलाईनका माध्यमबाट लगानी गर्ने वातावरण बनाउने भनि आश्वासन दिईरहेका बेला ब्रोकर कार्यालमै गएर विवरण उपलब्ध गराउनु भन्ने निर्णयले सरकारी उच्च ओहदामा रहेकाहरू सेयरबजार प्रति पुर्वाग्राही रहेको उप्रतिको आरोप छ । लामो समयदेखि निराशामा घेरिएको सेयर बजार सरकारको यो निर्णयले थप आन्दोलित बनेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६