बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य आखिरी चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महिनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो । धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलमा भौतिक प्रगति राम्रो रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वबिजयलाल श्रेष्ठले बताए ।
सडकको मुख्य लेनको दुवैतर्फ काम शुरु गरिएकामा एकातिर सम्पन्न भइसकेको र अर्कातिर काम भइरहेको हो । उनले भने, एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्कातिर साइटमा काम भइरहेको पाइन्छ ।
यो सडक पुल तोकिएकै अवधि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढेको इञ्जिनीयर श्रेष्ठले बताए । बाँकी रहेको साइडमा स्लाप राख्ने र ढलानको काम सकिएको उनले बताए । स्टिलको डण्डी (आर्च) राख्ने, फुटपाथ निर्माण र ‘एप्रोच रोड’ निर्माण गर्न बाँकी रहेको उनले बताए । उनले भने, त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन ।
सो पुलको निर्माण शुरु गर्दा शुरुका दुई तीन वर्ष भौतिक प्रगति कम देखिए पनि अहिले गति लिएको देखिएको छ । आयोजनाले भने ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको उनले बताए ।
आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिनुभयो । ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो , उनले भने, त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।
सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनले बताए । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक÷पटक ताकेता गर्दासमेत नहटाएको उनले बताए ।
आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए । उनले भने, अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।
माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक छ लेनको निर्माण गरेपनि धोबीखोला र बागमती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् ।
के हो नेटवर्क आर्क ब्रिज ?
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।
यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ ।
विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउनेसमेत उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए ।
यस पुल निर्माणका लागि विसं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुसम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६