मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मानवीय क्षति र प्रतिकार्यको विवरण सार्वजनिक गर्दै केन्द्रका उपसचिव वेदप्रसाद खनालले ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पु¥याएको जानकारी दिए ।
‘१० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन्,’ उनले भने, ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् ।’
बाढीपहिरोका कारण ताप्लेजुङमा एक घर विस्थापित भएको छ भने झापामा तीन जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६