हुम्लामा २०२५ सालमा जन्मिएका जीवनबहादुर शाही २०५४ सालदेखि राजनीतिमा सक्रिय छन । अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका शाही सोही पार्टीका तर्फबाट हुम्लाका प्रत्यक्ष निर्वाचित सांसद हुन । माओवादी युद्धका कारण घर गुमाएका शाही त्यही माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारीमा रहेका छन । वर्तमान संयुक्त सरकारमा मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राप्रपा सरकारमा सहभागी हुनेक्रममा सरुवामा परेका शाही यसअघि नागरिक उड्ययन तथा पर्यटनमन्त्री थिए । उनले पर्यटनमन्त्री हुँदा जसरी सफलता पूर्वक कामहरु गरेका थिए खानेपानी मन्त्री भैसकेपछि पनि एकमहिनाकै बीचमा उनले राम्रो कामको सुरुवात गरेका छन । उनले वर्षौदेखि खानेपानीको महसुल नतिर्नेविरुद्ध कारबाही अभियान चलाएका छन भने मेलम्चीको पानीका लागि भइरहेको पाइपालाइनको कामबाट उत्पन्न भएको धुलो नियन्त्रणको काम गरेका छन । उनै शाहीसँग आजको न्युजले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
दशैँँमा काठमाडौँका जनतालाई मेलम्चीको पानी उपाहार
२५ वर्षदेखि काठमाडौँका जनताले मेलम्चीको पानी आउने कुरा सुने पनि यसको काम सन् २०१२ देखिमात्र भएको हो । मेलम्चीको सन्दर्भमा मैले पनि विगतमा काम भन्दा हल्ला धेरै भएको पाएँ । तर अहिले पछिल्लो दिनमा मेलम्चीको पानी काठमाडौँमा ल्याउनका लागि जेजसरी काम भैरहेको छ त्यसबाट हामी सन्तुष्ट छौँ । त्यस कारण हामी यही २०७४ सालको दशैँमा काठमाडौँका जनतालाई दशैँको उपाहार मेलम्चीको पानी दिने प्रतिवद्धता जनाइरहेका छौँ । हुनत यसअघि २०७२ वैशाख १ गते मेलम्चीको पानी आउँछ भनेर भनियो तर आएन । अहिले हामीले ठेकेदारसँग बैंक ग्यारेन्टी लिएर ३० करोड रुपैयाँ पेश्की दिएका छौँ । यसले उसले नयाँ इक्युपमेन्ट ल्याएर काम गरिरहेको छ । भौगर्भीक अध्ययनको प्रतिवेदन र काम गर्दै जाँदा केही कुरामा तालमेल नहुँदा ठेकेदारलाई काम गर्न केही अप्ठेरो भएको देखिएको छ । पहिला त्यहाँ भौगर्भीक अध्ययन गर्दा हार्ड रक छ भन्ने कुरा थियो तर अहिले सफ्ट रक भेटिएको छ । फुसफसे धेरै भएपछि भेरिएसन बढ्ने भएकाले उनीहरुले बढी पैसा दाबी गरेका छन । मैले अहिले टेक्नोलोजी चेन्ज गरेर भए पनि गरौँ भनेको छु । महालेखा र अख्तियारले के भन्छ भनेर नअलमलिन र काम अघि बढाउन निर्देशन दिइएको छु । हाँहरुलाई हेडवर्कसको काम भएको छैन भन्ने पनि लाग्न सक्छ । त्यो सबै सकाएर काम गर्दा त समय लाग्छ नै तर हामीले के गर्यौ भन हेडवर्कसको काम पनि गर्दै गर्ने र ब्रेक थ्रु भएको ठाउँमा पनि फिनिसिङको काम पनि गर्दै गर्ने । अराउड ७५ मिटरको १.६ डायमिटर भएको पाइप चाहिँ हेडवर्कस राखेर पानी टनेलमा पठाइदिने । त्यसले गर्दा हामी १७ करोड लिटर पानी ल्याउन सक्छौँ । त्यसपछि हामी फुल फ्लेजमा जाँदा त फेरी अर्को पनि टेण्डर गर्नुपर्ने छँदै छ । पानी नै आउन थालेपछि हाम्रो यहाँको जनतालाई पनि आशा हुन्छ । पानीका भएका मुहानहरु समेत सुकेर गइरहेको र पानी नै खान नपाउने अवस्था भएकोले पानी ल्याउनु नै ठूलो काम हुन्छ ।
धुलो कम भैसकेको छ, बढ्न दिँदैनौ
मैले मन्त्रालय सम्हालेको एक महिना पूरा भयो । म फागुन २७ गते यस मन्त्रालयमा आएको हुँ । मैले मन्त्रालय सम्हालने बित्तिकै पहिलो प्राथमिकता धुलो नियन्त्रणलाई दिएको छु । संसदीय समितिले पनि बोलायो । सामाजिक सञ्जालमा सरकारको तीव्र अलोचनाहरु भैरहेको थियो । हरियो प्लास्टिकको वाल हालेर धुलो रोक्न सकिने हैन । त्यसैले व्यस्त रुटहरुमा धुलो कम गराउन पिच गर्ने काम भएको छ । त्रिपुेरेश्वरमा व्यापक धुलो मैलो थियो मैले आउने बित्तिकै त्याहाँ पिच गर्न लगाए । पुल्चोक पनि पिच गरियो । अन्य स्थानमा पनि सडक भत्काएका ठाउँमा तत्कालै पिच गर्ने र पिच नै गर्न सम्भव नहुने ठाउँमा धुलो नउड्ने गरी पानी छ्याप्ने लगायतका उपाय अवलम्बन गरिएको छ ।
राम्रो पिच गराउने काम सडककै हो
धुलो रोक्ने पिच हामीले नै गरेका हौँ । त्यसमाथि सडकले पनि गर्दै छ । राम्रो पिच गर्ने जिम्मा चाहिँ सडककै हो । हामीले धुलो कम गराएको मात्र हो । हामीले ४० करोड रुपैँया सडकलाई दिएका छौँ । नेपालमा बिटुमिन बनाउने कम्पनी जम्मा दुई वटा मात्र रहेछ । संसदीय समितिले नै वातारण प्रदुषण हुन्छ भनेर बन्द गराएको रहेछ । तथापी सडकले आफ्नो रफ्तारमा राम्रो पिचको काम गर्नेमा हामी विश्वस्त छौँ ।
दुई अर्ब १२ करोड बक्यौता, धमाधम उठ्दै
नेपाल खानेपानी संस्थान हुँदाको ६८ करोड ५० लाख र लिमिटेड बनेपछिको एक अर्ब ४३ करोड ५५ लाख गरी दुई अर्ब १२ करोड पाँच लाख बक्र्यौता बाँकी रहेकोे छ । लिमिटेड महाराजगञ्ज शाखाको २७ करोड ८८ लाख, त्रिपुरेश्वर शाखाको २० करोड ४० लाख, क्षेत्रपाटी शाखाको १५ करोड ४३ लाख, महाङ्कालचौर शाखाको १७ करोड नौ लाख, बानेश्वर शाखाको २७ करोड ३५ लाख, कमलादी शाखाको छ करोड एक लाख, ललितपुर शाखाको २१ करोड २६ लाख, भक्तपुर शाखाको चार करोड ६२ लाख, कीर्तिपुर शाखाको ५६ लाख, मध्यपुर ठिमी शाखाको एक करोड ६८ लाख र ट्याङ्कर शाखाको एक करोड १४ लाख रुपैयाँ महसुल उठ्न बाँकी छ । बक्यौता उठाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगर्ने तयारी गरेको छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको छ । मन्त्रालयनै लागेको कारण बक्यौता उठ्नेक्रम जारी छ ।
केयुकेएलको प्रभावकारिता बढ्छ
खानेपानी सम्बन्धी ८ वटा निकाय छन । त्यस मध्येको एक केयुकेएलमा तलब खुवाउने पैसा पनि छैन । केयुकेएल सरकारलाई विश्वास नगरेर खोलिएको कम्पनी रहेछ । कम्पनीमा जाँदा ८५ करोडको बक्यौतासहित दिइएको रहेछ । अहिले त डेढ अर्वभन्दा बढी बक्यौता पुगेको छ । अनि लोनामा उसलाई पैसा दिन मिल्ने तर कुनै ठाउँमा लिकेज भएको छ मर्मत सम्भारका लागि पैसा दिन नमिल्ने । त्यसले गर्दा मैले अर्को एउटा महत्वपूर्ण स्टेप चालेको छु । जनताले पानीको पैसा नतिर्दा धारा काटिने तर सरकार जसले सुशासन दिनुपर्ने तीनकै निकायमा मात्रै ४२ करोड भन्दा बढी बक्यौता रहेछ । सबैभन्दा कान्छो मन्त्रालय यही मन्त्रालयबाट पैसा तिराउन लगाएर सबैलाई एक महिनाको पत्र काटिएको छ । वैशाख अन्तिम सम्ममा सबैले बक्यौता तिर्नुपर्यो यदि तिरेनन भने बाध्य भएर धारा काटिने छ । पनी नआएपछि गुनासो गर्नुपर्यो र सुनुवाइनै भएन भने धारा काट्न भन्नु पर्यो नत्र धारा जोडिराखेर पानी खान पाइएन भनेर गुनासोमात्र गरेर केही हुन्न । पानी नै नआएपछि त नियम अनुसार धारा काट्नु पर्यो नि त । तपाईले धारा नकाट्तासम्म पानी आए पनि नआएपनि पैसा तिर्नुपर्छ । जस्तै कुलमानजीले मेरो लोकप्रियता देखेर प्राधिकरणको बक्यौता छ भनेर गलत प्रचार गरेको भन्ने कुरा गर्नुभयो । त्यस्तो हैन । विद्युत्त प्राधिकरणको पनि बक्यौता छ । म त उहाँलाई आदार नै गर्थे कसैको लोकप्रियतालाई डिमोरलाइज गर्न होइन यहाँत अहिले एक घण्टा पानी खाइरहेकाहरुलाई दुई घण्टा पानी खुवाउनका लागि काम भइरहेको छ । बक्यौता उठेपछि केयुकेएलका कर्मचारीलाई काम लगाउन पनि सहज हुन्छ भने उनीहरुको कामको गति पनि बढ्छ यसले संस्थाकै प्रभावकारिता बढ्ने निश्चित छ ।
चुहावट नियन्त्रण गर्न डिजिटल मिटर राखिने
अहिलेको पाइप प्रणालीमा विशेष प्रविधि भएकाले महसुल नतिर्ने ग्राहकलाई पानी दिइँदैन, मिटर राखेर धारामा पानी पठाइँदैन । यो विशेष किसिमको प्रणाली नेपालमा पहिलोपटक जडान हुँदैछ । नयाँ प्रविधिले पाइप प्वाल पारेर चोरी गर्नेलाई रोक्न नसके पनि वैधानिक रुपमा दर्ता भई मिटर जडान गरेका ग्राहकको मिटरमा पानी नजाने गरी बन्द गर्न सकिने व्यवस्था गरिदैछ । पहिला धारा जोड्दा एउटै पाइपमा धेरै धारा जोडिएका थिए । खानेपानीको बिल तिरेको समेत जानकारी हुँदैन्थ्यो । धेरैले यसैलाई मौकाको रुपमा हेरेर लामो अवधिसम्म महसुल तिरेनन् । तर अब भने प्रत्येक घरको अलगै लाइन हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४