भोजपुरमा पहिरोको कारण एक सय घर विस्थापित भएका छन् भने पाँच जनाको ज्यान गएको छ । केहि दिन अघि परेको अबिरल वर्षातका कारण सय परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
वर्षात कारण विस्थापित भएसंगै उनिहरु राहतको आशामा बसेका छन् । तत्कालिन रुपमा पाल लगाएत केहि राहत पाएको भएपनि अन्य सहयोग नपाएको पीडितको गुनासो छ । पहिरोबाट विस्थापित भएकाहरु घरपरिवारहरु पाल तथा छिमेकीको घरमा दुखले रात काट्न वाध्य छन् ।
विस्थापित मध्ये भोजपुर नगरपालिकामा १४ घरपरिवार, टम्केमैयुङ्ग गाउँपालिकामा २६, पौवादुङ्मा गाउँपालिकामा दुई , आम्चोक गाउँपालिकामा ४४, रामप्रसादराई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा एक रहेका छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा १६ घर पूर्णरुपमा क्षती भएका छन् भने ५८ घरमा आंशिक क्षती पुगेको छ ।
पहिरोले घर पुरिंदा रामप्रसादराई गाउँपालिकामा चार जना र टेम्केमैयुङ्ग गाउँपालिकामा एक गरि जम्मा पाँच जनाको ज्यान गएको थियो । तीन जना घाइते छन् ।
प्रमुख जिल्ला अधिकारी नुरुहरि खतिवडाले स्थानीय तहहरुलाई आफ्नो आफ्नो क्षेत्रमा भएको क्षतीको विवरण संकलन गरि पठाउन पत्राचार गरिएको वताए । क्षती विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६