उदीयमान र परम्परागत शक्तिको बीचको चेपमा नेपाल पर्न नहुने सुझाव कूटनीतिज्ञ, प्राध्यापक र विज्ञको छ। त्यसका लागि नेपालले पहिलेदेखि नै अंगाल्दै आएको असंलग्न परराष्ट्र नीतिकै अवधारणा/माध्यममा अघि बढ्न आवश्यक रहेको उनीहरुले औल्याएका छन्।
शक्ति मुलुक अमेरिका होस या उदीयमान मुलुक चीन दुवैले भारतलाई प्रमुख साझेदारको रुपमा अघि बढाइरहेको अवस्थामा नेपाल चनाखो हुनुको विकल्प नभएको सुझाव पनि दिए।
भारत र चीनको बीचमा रहेको नेपालको आफ्नै प्रकारको महत्व रहेकाले पनि सचेतना बढी आवश्यक रहेको भन्दै राजनीतिक नेतृत्व बढि सचेत हुन सुझाएका छन्।
प्राध्याप श्रीधर खत्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले राम्रो नतिजा दिन नसक्दा बेल्ट एण्ड रोड इनीसियटिभ (बीआरआई) र इन्डो–प्यासिफिक रणनीति (आईपीएस) यस क्षेत्रमा अग्रसर देखिएको बताए।
त्यस्तो अवधारणामा सहकार्यतर्फ उन्मुख भएर मुलुक हितमा उपयोग गर्ने प्रकारको कूटनीति अबलम्बन अहिलेको अपरिहार्यता रहेको उनले बताए। उनले यस्ता सहकार्यबाट फायदा हुने भएपनि त्यसमा मुलुकको हितमा अडेर अघि बढ्न सुझाएका छन्।
कुन मुलुकको कस्तो अवधारणामा आवद्ध हुने भन्नेमा नेपालले आफ्नो विदेश नीतिका सिद्धान्तमा आधारित रहेर निर्णय लिनुपर्ने उनको सुझाव छ।
अमेरिकी राजदूत र्यान्डी बेरीले भने, ‘अमेरिकी दूतावासले आफैँ छलफललाई निदेर्शित गर्ने हिसाबले यस्ता कार्यक्रमलाई प्रायोजन गरेको होइन। यसको उद्देश्य त विचारको स्वतन्त्र आदानप्रदान र सम्बन्ध निर्माणलाई प्रोत्साहित गर्नु हो।’
नेपालले सामना गरिरहेका चुनौतीका लागि यसबाट अहिले र भविष्यमा समेत व्यावहारिक तथा स्वदेशी समाधान निस्कने धारणा पनि उनले ब्यक्त गरे। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६