काठमाडौं : साँझको समय । पानी बेजोडले परिरहेको थियो । त्यो पानीको वेवास्ता गर्दै सडकको छेउमै महिला दिदीवहिनीहरुको बाक्लो भिड । त्यहि भिडमा सुनिन्थ्यो एउटै आवाज मेरो लगाई दिनु मेरो,लगाई दिनु । यहि दृश्यलाई नियाल्लै थिइन् पंक्तिकार । दृश्य हो काठमाडौँ चावहिल गणेस्थान मन्दिर नजिकैको ।
माहोल अलि पृथक थियो । अन्य समयको भन्दा भिड पनि बाक्लै । महिलाहरुको त्यो आवाज थियो मेहेन्दी लगाई माग्ने आग्रह । भिडमा कोही हातमा विभिन्न डिजाइनका मेहेन्दी लगाइ रहेका थिए त कोही लगाईदिनका लागि आग्रह गरिरहेका थिए । मेहेन्दी लगाई आर्कषक थियो । जस्तैकी, हामी युटुवमा देख्छौं । विभिन्न आकर्षक डिजाईनका फूलबुट्टाहरु दिदिबहिनीहरुको हातमा देखिन्थे ।
पंक्तिकार एकछिन त्यहिँ मिसिइन् र बुझिन् त्यो भिडको यथार्थता । भिडमा हातमा मेहेन्दी लर्गादिनका लागि पाँच जनाको एउटा समूह रहेछ । उनीहरु सबैजना लहरै बसेर मेहन्दी लगाउन आउने दिदिबहिनीहरुको हातमा मेहन्दी लगाईदिनमा व्यस्त थिए ।
दुई जना चाँहि हातमा विभिन्न डिजाईनका पोष्टरहरु ग्राहकहरुलाई देखाउँदै बसिरहेका थिए । एक जनाको नाम रितेश गुप्ता र उनको अर्को साथिको नाम सन्तोष कुमार । उनीहरु सबैजना ईन्डियाबाट आएका रहेछन् ।
साउनको महिनामा नेपालमा पनि महिलाहरुले हातमा मेहन्दी लगाउने भएका कारण सोहि अवसरमा आफनो व्यापारको लागि हरेक वर्षको साउन महिनामा आफुहरु नेपाल आउने गरेको उनिहरुले बताए ।
रितेशको घर नेपालकै रौतहट जिल्लामा रहेछ । तर उनी ईन्डियाको पञ्जावमा बसेर व्यापार गरिरहेको बताए । आफु १५ वर्ष उमेरको हुँदा देखि नै जलान्धरमा बसेर मेहन्दी लगाईदिने काम गर्दै आएका उनले बताए ।
अहिले उनी २५ वर्षका भएछन् । “१० वर्ष यहि काममा व्यस्त छु, राम्रो लाग्छ आफनो काम”, रितेश भन्छन्,‘नेपालमा साउनको महिनामा मात्र मेहन्दी लगाउने हुनाले एक महिना नेपाल आउँछु,त्यसपछि फेरि भारत जान्छु ।’ उनले भने,‘जलान्धरमा एक साल लगाएर सिकेको हुँ, डिजाईन अनुसारको पैसा लिने गर्छु ।’ साधारण किसीमको डिजाईनको एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँ सम्म लिने गरेका उनको भनाई छ ।
उनि मेहेन्दी भरेर जुटाएको पैसा घरखर्चको लागि छुट्याउँछन् । उनका आमा बुबा भाई वहिनी लगायत आठ जनाको परिवार रहेको उनि बताउँछन् । परिवार पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । आफनो जिम्मवारी सम्हाल्दै उनी पञ्जावमा नै व्यापार गरि बस्ने र चाडवाडको समयमा मात्र आफनो घर रौतहट फर्कने गरेको उनि बताउँछन् ।
मेहेन्दी भरेर नै मासिक ५० हजारसम्म कमाई हुने उनी बताउँछन् । ‘कुनै समय पाँच हजार मात्र कमाई हुन्छ, कहिलेकाहीँ २० हजार, ३५ हजार देखि ५० हजार सम्म हुन्छ,उनि भन्छन्,‘कहिलेकाँहि कति पनि हुँदैन ।’ उनि अहिले काठमाडौँको विभिन्न चोक बसुन्धारा, चक्रपथ, चावहिल, गौशाला लगायत विभिन्न चोकमा बसेर महिनाभर मेहेन्दी लगाईदिने काम गरि रहेको बताउँछन् ।
यस्तै भारत बिहारका २५ वर्षका सन्तोष कुमार पनि आफनो साथिहरुसँग नेपाल आएर मेहेन्दी लगाई रहेका छन् । सन्तोष पनि आठ वर्षदेखि यहि काममा आवद्ध छन् । उनीहरुको एउटा समूह छ जो एकैठाँउ बसेर सँगसँगै काम गर्छन । उनको पनि पञ्जावमा पसल छ । रितेश जस्तै उनले पनि महिनामा ५० हजार कमाई हुने बताउँछन् । विवाहको बेला बेहुलीलाई मेहेन्दीले सिगार्नका लागि उनिहरु विभिन्न ठाउँमा पुग्ने गरेको बताउँछन् ।
सन्तोष भन्छन,‘विवाहको सिजनमा अन्य दिनभन्दा अलि बढि कमाई हुन्छ, सात हजार देखि १० हजार सम्म एकै दिनमा हुन्छ, अरुबेला सामान्य हो तरपनि यहि हो मेरो आयस्रोत ।’ साधारण किसीमको मेहेन्दी लगाईदिन करिव २ देखि ५ मिनेट मात्र लाग्ने गरेको उनि बताउँछन् । घण्टामा १० देखि १५ जनालाई मेहेन्दी लगाउन सकिने उनी बताउँछन् ।
साउन महिनामा नेपाली हिन्दु महिलाहरुले हरियो, रातो र पहेँलो चुरा लगाउनको साथै हातमा विभिन्न डिजाईनका मेहेन्दी लगाउने चलन रहि आएको छ । जसअनुसार भारतका व्यापारीहरु पनि साउन एक महिनाको लागि नेपाल आएर ग्राहकले भनेजस्तै विभिन्न डिजाईनका मेहेन्दी हातमा भरेर महिनादिन पछि भारत फर्किने गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६