काठमाडौं : सिंगापुरमा यही जुलाई अन्तिम साता हुने आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा तयारी गरेको छ।
मलेसियामा १० दिनको तयारी दुई टी २० खेलपछि नेपाली टोलिको मनोबल उच्च बनेको छ।
नेपालले मलेसिया विरुद्ध जुलाई १३ र १४ मा दिपक्षिय सिरिज क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारिसकेको छ।
अब नेपाली टोली भोलि मलेसियाबाट सिंगापुर प्रस्थान गर्नेछ।
सिंगापुरमा जुलाई २२ देखि २८ सम्म एसिया क्वालिफायर हुँदैछ। यस रिजनबाट विजेता हुने टिम युएईमा अक्टोबर-नोभेम्वरमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।
क्वालिफायर खेल्ने पाँच मध्ये नेपाल वरीयतामा सबैभन्दा माथि, बलियो टिम हो र ओडिआई मान्यता पाउने पनि एक मात्र टोली हो। त्यसैले नेपालको एक मात्र लक्ष्य क्वालिफायर जित्नु नै रहेको छ।
मलेसिया जानुअघि नेपाली टिमका कप्तान पारस खड्काले वरीयतामा माथि रहेकोले दबाब पनि नेपाली टोलीमै रहेको बताएका थिए। नेपालले मलेसियामा १० दिनको तयारी र दुई खेलको सिरिज जितिसकेकोले केही दबाब भने कम भइसकेको छ।
नेपाल र मलेसियासहित आयोजक सिंगापुर, कतार र कुवेतले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाल, सिंगापुर र मलेसिया इस्टर्न सब रिजनबाट शिर्ष तीनमा रहँदै एसिया फाइनल राउण्डको लागि छनोट भएको हो। कुवेत र कतार वेष्टर्न सब रिजनबाट छनोट भएको हो। युएई पनि यही रिजनबाट छनोट भएकोमा ग्लोबल क्वालिफायरको आयोजकको हैसियतमा सिधै छनोट भइसकेको छ।
नेपालले जुलाई २३ मा कतारसँग पहिलो खेल खेल्दै क्वालिफायर सुरु गर्नेछ।
नेपालले खेल्ने चार वटै टोलीसँग नेपालले यसअघि खेलिसकेको छ। कतार र मलेसियासँग नेपालले यसअघि टी २० क्रिकेटमा हार पनि बेहोरेको छ। सिंगापुर र कुवेतसँग भने नेपाल टी २० मा हारेको छैन।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६