आँगनको फूल टिपेको निहुँमा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकलाई बायाँ गालामा नीलडाम हुने गरी कुटेका छन् । बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका भरत घर्तीलाई वडाध्यक्ष सार्कीले कुटेका हुन् ।
भरतको बायाँ कान र पेटमा समेत चोट लागेको आमा रेवता घर्तीले बताइन् । वडाध्यक्ष सार्कीले पनि भरतलाई कुटेको स्विकारेका छन् । तर, कानमा नभई टाउकोमा हल्का हिर्काएको उनको दाबी छ । बालक भरतले भने आफूले वडाध्यक्षको आँगनको फूल नै नटिपेको बताएका छन् ।
बालकको घोराही नयाँ बजारस्थित ‘नयाँ बजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टर’मा उपचार गरिएको छ । रातभर कान दुखेर छटपटाएपछि छोरालाई बिहीबार बिहान अस्पताल लगेको रेवताले बताइन् । भरतले कान नै सुन्न छाडेको उनको भनाइ छ । तर, बालकको कानमा धेरै फोहोर जम्मा भएकाले एक हप्तासम्म फोहोर झिकेपछि मात्रै कानको जालीमा असर परे–नपरेको थाहा हुने चिकित्सक विक्रम बुढाथोकीले बताए ।
छोरो कुटिएपछि रेवताले वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छिन् । जिप्रकाका इन्स्पेक्टर राजन गौतमले महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गराएको बताए । शुक्रबार दुवै पक्ष बोलाएर छलफल गराउने उनले बताए ।
बालककी आमा रेवता घर्ती भन्छिन्–वडाध्यक्षज्यूले बाबुलाई लखेट्दै घरमै आएर कानमा हान्नुभयो, पाँच हजार जरिवाना तिर भन्दै थर्काउनुभयो
सबै केटाकेटीसँगै बाबु पनि खेल्दै थियो । एक्कासि आत्तिँदै दौडिँदै घरतिर आएर भित्र पस्न खोज्यो । तर, कताबाट वडाध्यक्ष पनि आएर बाबुलाई धमाधम कुट्न थाल्नुभयो । म त के गरौँ, कसो गरौँ भएँ । बाबु कान दुख्यो भनेर रुन थाल्यो । म तत्कालै गाउँका महिलाहरू लिएर वडाध्यक्षको घरमा पुगेँ । उहाँले उल्टै ‘फूल टिपेको पाँच हजार रुपैयाँ तिर’ भनेर थर्काउनुभयो । राति बाबु कान दुख्यो भनेर झन् रुन थाल्यो । सुत्नै सकेन । तर, पैसा नहुँदा राति नै अस्पताल लैजान सकिनँ । बिहान ऋण खोजेर अस्पताल लगेँ । उसले कान नै सुन्दैन, छुन पनि दिँदैन । डाक्टरले कानमा फोहोर भएकाले जाली फुटे–नफुटेको अहिल्यै भन्न नसक्ने बताएका छन् । आफैँले भोट हालेर जिताएको नेताले अबोध छोरोलाई लखेट्दै घरमै आएर हिर्काए । न्याय दिनुपर्नेले नै अन्याय गरे ।
वडाध्यक्ष भीमबहादुर सार्की भन्छन्–फूल टिपेपछि सचेत गराउन टाउकोमा प्याट्ट पारेको हो, घटनालाई ठूलो बनाउनुपर्दैन, उपचार गरिदिन्छु
मेरो घरआँगनसँग जोडिएको फूलबारी छ । बुधबार घरमै थिएँ । त्यो बाबु आएर फूल टिप्दै फाल्न थाल्यो । केटाकेटीले गलत गर्न लागे सचेत गराउनुपर्छ भनेर मैले टाउकोमा बिस्तारै प्याट्ट पारेको हो । गम्भीर चोट लाग्ने गरी हिर्काएको छैन । घटनालाई ठूलो बनाउन खोजिएको छ । त्यतातिर लाग्नुपर्दैन, उपचार खर्च मैले नै दिन्छु । समाचार नयाँ पत्रिका दैनिकमा छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६