साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ शुरु भएको हो । जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्ति पर्वसँगै सघन रोपाइँ शुरु भएको छ । असारको चौथो साताको प्रारम्भसम्म खेतको माटो गालेर पानी नपर्दा यहाँको रोपाइँ पछि परेको हो ।
असार निगल्दो अविरल परेको पानीको डुबान कम भएर खेत खनजोत गर्न सकिने भएपछि बल्ल रोपाइँ शुरु गरिएको भङ्गाहा–५ राजपुरका किसान लक्ष्मण महतोले बताए । जेठ मध्यताका राखेको धुले बीउ ब्याडमै खडेरीले खायो, असार मध्यताका परेको पानीमा राखेको बीउ भर्खर तयार भएकाले पछिल्लो वर्षापछि बल्ल धान रोप्न थालेका हौँ , महतोले भने, बीउको ब्याड पनि पछिल्लो पानीले डुबाएर गलाएकाले सबै खेत रोप्न सकिने छाँट छैन । यद्यपि अहिले राम्ररी बीउ रोप्न सकिए २२ दिनपछि खरुवन (कलम, अहिले रोपेको गाँजिएपछि त्यही उखेलेर रोप्ने) बाट बाँकी खेत रोपिने महतोको आश छ । जिल्लाको उत्तरी क्षेत्रमा भिरालो जग्गा भएकाले डुबानको पानी चाँडै बगेर नगरपालिका क्षेत्रमा जाँदा अहिले सघन रोपाइँ भएको देखिँदैछ ।
जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अझै खेतका ग¥हा नदेखिनेगरी पानी डम्म नै भएकाले रोपाइँको अहिले सुरसार नै नभएको रामगोपालपुर नगरपालिका–७ का किसान इब्राहिम राइनले बताए । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा बाँकी छ नगरपालिका र पाँच गाउँपालिका क्षेत्रमा बीउ जोगिएको होला भन्ने किसानले सोचेका छैनन् । शुरुमा खडेरीले बीउ खायो, अहिले केही नदेखिने गरी खेतमा डम्म पानी भरिएको छ, बीउ गली सकेको होला ! एकडारा गाउँपालिकाको भटौलिया गाउँका किसान जानकीशरण मण्डलले दिक्दारिँदै भने, हामी किसानका दिन कहिल्यै फिर्ने भएनन् । आकासे पानीको भरमा खेती गर्नुपर्दा कहिल्यै ठीक समयमा खेती लगाउन नपाइएको मण्डलको गुनासो छ । मण्डलले भने, नदी त बस्ती नै पिच्छे छन् नि..! तर, सिँचाइका लागि नभएर बर्खामा घरखेत बगाउन । जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ८५३ हेक्टरमध्ये ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाहीले जनाएको छ ।
यसपालि भने बीउ रोपाइँ सकिएको हुनपर्ने असार मसान्तसम्म सिञ्चित क्षेत्र (नहर र कुलोको पानी लाग्ने) मा मात्र १० प्रतिशत रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सर्लाहीको महोत्तरीस्थित सम्पर्क कार्यालयका अन्नबाली प्राविधिक रामकैलाश साहले बताए । जिल्लामा अहिलेसम्म नहर र कुलोको पानी लाग्ने सिञ्चित क्षेत्र चार हजार ७९५ हेक्टर मात्र छ । बाँकी अन्य जग्गा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले किसानले ठीक समयमा खेती लगाउन नपाएका कृषि ज्ञान केन्द्रका कृषि विज्ञ पनि स्वीकार गर्छन् । जिल्लाकै मुख्य बाली मानिएको धान खेती लगाउन नपाएपछि यसपाली अन्नको सङ्कट पर्ने चिन्ताले किसानलाई पिरोलेको छ ।
अब त तीनै तहमा स्थायी सरकार (सङ्घ, प्रदेश र स्थानीयतह) भएपछि आपूmहरुका दुःखका दिन सकिएर राम्रो खेती गर्न पाउने आश पनि मर्दै गएको किसानले बताएका छन् । -- रासस
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६