भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।--रासस
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६