पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित संघीय सरकारका मन्त्रीहरू डुबान प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।
प्रदेश २ मा बाढी पहिरोले पुर्याएको क्षति, राहत र उद्धारको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ बिहान नेपाली सेनाको हेलिकप्टरबाट रौतहट पुगेका हुन्।
अनुगमनपश्चात गृहमन्त्री थापाले मातहतका निकायले निर्देशन बमोजिम काम गरेको दाबी गरे। उनले भने, ‘सुरूमा गर्नुपर्ने कामहरू सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो त्यो काम राम्ररी नै सम्पन्न भएको छ।’
उद्धारका कामहरू सम्पन्न भइसकेको र अब पुनर्निर्माणको काम सुरू हुने उने बताए। ‘लगभग उद्धारका काम सम्पन्न भएको छ, केही बाँकी छन्। अब पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउँछौं।’ उद्धार र राहतको काम कसरी भइरहेको छ भनेर निरीक्षण गर्न आफूहरू यहाँ आएको उनले बताए।
टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समितिका सभापति कल्याणी खड्का र रौतहटका सांसद प्रभु साह पनि सहभागी थिए। अघिल्लो साता परेको ठूलो वर्षाले प्रदेश २ मा ठूलो क्षति पुर्याएको छ। हालसम्म देशभर बाढीपहिरो परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ।
प्रकाशित मिति: बुधबार, साउन १, २०७६