मुम्बई : भारतको मुम्बईस्थित डोंगरीमा मंगलबार चारतले भवन भत्कँदा १४ जनाको मृत्यु भएको छ। उक्त घरमा ४०/५० जना पुरिएको अनुमान गरिएको छ। घाइते ८ जनालाई उद्धार गरिएको छ।
उनीहरूको जेजे अस्पतालमा उपचार भइरहेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले १५ परिवार भग्नावशेषमा पुरिएको बताएका छन्। पुरिएका सबैलाई निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिएका छन्। उक्त भवन १ सय वर्ष पुरानो रहेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘मुम्बईको डोंगरीमा भवन ढल्दा भएको घटना पीडादायक छ।
मृतक र पुरिएका व्यक्तिका परिवनरको साथमा छौं। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सरकार राहत एवं उद्धार कार्यमा जुटेको छ ।’
मंगलबार करीब साढे ११ बजे उक्त भवन भत्किएको थियो। भवन साँगुरो गल्लीमा भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ। गाडी छिर्न सक्ने बाटो नभएकाले उद्धारकर्मीले स्रोत साधन प्रयोग गर्न नसकिएको बताएका छन्।
पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारले घोषणा गरेको छ। उक्त भवनवरपरका भवन खाली गराइएको छ। उक्त दुर्घटनाका प्रभावित व्यक्तिलाई नगरनिगमले इमामबाडा म्युनिसिपल सेकेन्डरी गल्र्स स्कूलमा आश्रय दिएको छ।
प्रकाशित मिति: बुधबार, साउन १, २०७६